
बिराटनगर। इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
झापा अर्जुनधारा नगरपालिका ४ जुकेखाडी स्थित कच्ची सडक खण्डको ह्युमपाइप भित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।