
चितवन। नेपाली कांग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले संविधान रक्षाका लागि निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्।
आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधान रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।
उनले सरकार गठबन्धनको भएकाले निर्वाचनमा पनि गठबन्धनबाटै जाँदा राम्रो हुने भएकाले पनि तालमेल गरिएको उल्लेख गरे । तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्ने उनको दाबी छ।
तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपरेको बताए । अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो।