सिन्धुपाल्चोकका काँग्रेस नेता अपहरण गरेको आरोपमा ‘चाइनिज’ पक्राउ

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको सुकुटेबाट काँग्रेस नेतालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–५ घर भएका रमेश लामा उर्फ चाइनिजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । वैशाख २६ मा सुनकोशी–६ थुम्पाखरबाट काभ्रेको पाँचखाल जाँदै गरेका काँग्रेस नेता धनबहादुर कार्की ‘बलराम’ अपहरणमा परेका थिए । सुकुटेमा चिया खाइरहेका बेला लामासहितका १५ जनाको समूहले गाडीमा हालेर उनलाई १ घण्टा पर सुनकोशीस्थित सदाबहादर एकेडेमीमा लगेर बन्धक बनाएका थिए । अपहणकारीले आफ्नो साथमा रहेको ९६ हजार लुटेको कार्कीले दाबी गरेका छन् ।

अपहरणको सूचना पाएपछि प्रहरीले कार्कीलाई उद्धार गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएर आरोपीहरुविरुद्ध पक्राउ अनुमती जारी भएको डिएसपी बस्नेतले जानकारी दिए । काठमाडौंबाट पक्राउ गरिएका चाइनिज घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

४० वर्षीय अभियुक्तलाई काठमाडौंबाट अनुसन्धानका लागि सिन्धुपाल्चोक पठाइएको छ । अपहरण गरेको आरोपमा लामासहित सुनकोशी–५ का अमर लामा, सुनकोशी–६ का दिनेश थापा र उमेश खड्काविरुद्ध पनि अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।