पर्साका किसानद्वारा दुई ट्रक मल कब्जा

वीरगञ्ज। पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा गरेका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताएका छन् ।

गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले सो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।