प्रहरीका पेट्रोल पम्पमा अब विद्युतीय चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको लगानीमा नेपाल प्रहरीले सञ्चालन गरेका पेट्रोलपम्पलगायत २५ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण हुने भएको छ । सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी भएको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बिज्ञापन

प्रहरीसँग भएको समझदारीअनुसार प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्नेछ ।

उपकरणको मर्मत तथा नियमित सर्भिसिङसमेत प्राधिकरणले नै गर्नेछ । प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउनेछ र निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्नेछ ।

प्रहरी कल्याण कोषद्वारा सञ्चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयका अन्य उपयुक्त स्थान गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ । चार्जिङ स्टेसन दीर्घकालीनरूपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुनेछन् ।

विद्युत् महसुल दरको शुल्कमा हुने नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चका रूपमा प्रहरी कल्याण महाशाखाले पाउनेछ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारी साधनको प्रयोग गरी मुलुकभित्र उत्पादित विद्युत् खपतका लागि चार्जिङ स्टेसन स्थापनाको समझदारी हुनु ऐतिहासिक अवसर भएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न समझादारी भएको बताए ।

चार्जिङ स्टेसनका उपकरण तथा पूर्वाधार निर्माणका लागि करिब १ करोड रुपैयाँ लाग्छ । महसुल दर औसतमा प्रतियुनिट करिब ५ रुपैयाँमा तोकिएको छ ।

प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशभर ५१ स्थानमा छिटो चार्ज गर्न सक्ने चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन् । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ ।