
काठमाण्डौं। नेतृ सरिता गिरीले सिरहा क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । सरिता गिरी नेपाली काँग्रेसका नेता प्रदीप गिरिको भाइ बुहारी हुन् ।
प्रदीप गिरिको निधन भए लगत्तै उनले नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी थिइन् । उनी एक महिनाअघि नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आज सिरहाको क्षेत्र नम्बर १ बाट सांसद पदका लागि निर्वाचन लड्ने घोषणा गरेकी हुन् ।
उनले आफूले स्वतन्त्र व्यक्तिको रुपमा उम्मेदवारी घोषणा गरेको बताइन् । उनले भनिन्, म स्वतन्त्र व्यक्तिको रुपमा उम्मेदवारी घोषणा गरेको छु, भोलि के हुन्छ त्यो भोलिको कुरा हो ।’ काँग्रेसबाट चुनाव लड्ने हो कि भन्ने जिज्ञासामा उनले आफूले अहिले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताइन् ।
नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनपछि सरिता गिरीले आफूलाई त्यहाँ उनको उत्तराधिकारीको रुपमा देखाएकी छिन् । तर उनले आफू प्रदीप गिरिको उत्तराधिकारी नरहेको बताएकी छिन् । उनले प्रदीप गिरिले देखेको सपना, उनले लिएको उद्देश्यलाई पूरा गर्न आफ्नो प्रयत्न रहने बताइन् ।
कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा फरक मत राखेका कारण उनलाई तत्कालिन समाजवादी पार्टीले कारवाही गरेको थियो ।प्रदीप गिरीको निधनपछि सो क्षेत्रबाट काँग्रेसका केन्द्रीय सदस्य पदमनारायण चौधरीले चुनाव लड्ने भनेका छन् ।
उनी हाल समानुपातिक सदस्य हुन् । तर प्रदीप गिरि आफू अन्तिमपटक चुनाव लड्ने त्यसमा सहयोग गर्न आग्रह गरेपछि पदमनारायण चौधरी पछाडी हटेर प्रदीप गिरीलाई सहयोग गरेका थिए । यसपटक उनले आफै सो क्षेत्रबाट चुनाव लड्ने बताएका छन् ।