नक्सापास नगरी बनाएका संरचना हटाउँदा क्षति भएको सामानको क्षतिपुर्ति महानगरपालिकाले नतिर्ने

काठमाडौं।  नक्सापास नगरी बनाएका संरचना हटाउँदा क्षति भएको सामानको क्षतिपुर्ति काठमाडौं महानगरपालिकाले नतिर्ने भएको छ। महानगरसँग एउटाको स्वीकृती लिइ अर्को व्यवसाय सञ्चालन गर्न लगाउने घरबेटीले नै सो क्षतिपुर्ति तिर्नुपर्ने काठमाडौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

अवैध संरचना हटाउँदा साना व्यापारीको नोक्सान भएको भन्दै क्षतिपुर्ति महानगरपालिकाले तिर्नुपर्ने व्यापारीले बताउँदै आएका छन्। तर, यता महानगरले भने दमन नगरी नियमन गरेको बताउँदै आएको छ।

नगर प्रहरी प्रमुख पाण्डेका अनुसार काठमाडौमा बेसमेन्टलाई अधिकांशले पार्किङ बनाउने स्वीकृति लिएका छन्। तर,त्यसमा व्यवसाय सञ्चालन गरेको पाइएको छ। उनले भने,अवैध रुपमा निर्माण गरेको संरचना हटाई सवारी पार्किङ खुल्ला गर्न लागेका छौं।’

सोमबार नयाँ बानेश्वरको अन्डरग्राउन्ड भत्काएर सुरु गरेको अभियान अन्तर्गत बुधबार काठमाडौं मल,आर बी कम्प्लेक्स दरबारमार्ग लगायतका अवैध संरचना भत्काएको थियो।

महानागरले आज पनि काठमाडौंका विभिन्न स्थानमा बनाइएका अवैध संरचना भत्काइरहेको छ। आज चर्चित अल्फा बिटा पनि भत्काइदिएको छ ।