
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगन्जले मानव अंग तस्करीको आरोपमा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक, एकजना पूर्वप्रहरी हवल्दारसहित चारजनालाइ पक्राउ गरेको छ ।




पक्राउ पर्नेहरुमा नेपाल प्रहरीका बहालवाला प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया, पूर्वप्रहरी हवल्दार थनितसिह गुरुङ तथा रमेश कार्की र नारायण पराजुली रहेका छन् ।

उनीहरुले यही साउन ४ गते काठमाडौंको मनमैजुस्थित बाग्लुङ प्रभु खाजाघरमा काम गर्ने १८ वर्षीय विष्णु खड्कालाई मोटरसाइकल किनिदिने प्रलोभन दिएर भारतको नयाँदिल्ली पुर्याएर मिर्गौला बेच्न खोजेको प्रहरीले जनाएको छ ।
खड्कालाई दिल्ली लैजानुअघि चार दिन नारायण पराजुलीको घरमा राखेर साउन ७ गते दिल्ली लगिएको खुलेको छ ।
तर, खड्काका दाजुले भाइ हराएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीसहितको गिरोह पक्राउ परेको हो । उनीहरुलाई साउन ११ गते गोंगबु क्षेत्रबाट पक्रेको प्रहरीले जनाएको छ ।
गिरोह पक्राउ परेपछि नयाँदिल्ली पुर्याइएका खड्काको उद्धार गरेर नेपाल ल्याइएको र मिर्गौला झिकिनबाट पनि उनी बचेको प्रहरीले जनाएको छ ।