ओमकार प्रभाव : झापाको विभिन्न फार्मेसीहरुमा ओैषधी व्यवस्था बिभागको अनुगमन

 

सान नेपाल 

बिज्ञापन

ओमकार टाइम्सले थानारोड आसपासका फार्मेसीहरुमा हुने अनियमितताको पर्दाफास गर्न थालेपछि अतालिएका औषधि पसलेहरुमा थप त्रास देखिन थालेको छ । ओमकारको समाचार प्रभावका कारण  औषधि व्यवस्था बिभागले अनुगमन  गर्न थालेपछि अनियमितता गर्नेहरू आत्तिएका हुन् ।

 

बिभागको टोलीले आज शनिबार  हिमाल फार्मेसी, दर्पण फार्मेसी लगायतका केहि औषधि पसलमा अनुगमन गरेको छ । अनुगमन बाट बेचबिखनमा रोक लगाइएका हाइडोजका पेनकिलर, अशुरक्षित गर्भपतन गराउन प्रयोग गरिने  लगायतका औषधिहरु बरामद गरेको अनुगमनमा खटिएका ड्रग्स इन्स्पेक्टर सरोज सुबेदीले ओमकार टाइम्सलाई बताए । उनले आजै बिर्तामोड, र सुरुङ्गामा समेत अनुगमन गरिएको जानकारी गराए । सुबेदीका अनुसार बरामद गरिएका आधारमा त्यस्ता व्यवसायीका व्यवसायीक प्रमाणपत्र खारेजी देखी कसुरको प्रकृति अनुसार दण्ड जरिवाना र जेल सजाय समेत हुनसक्ने देखिएको छ । दमक थानारोड आसपासका केही औषधि पसलहरुमा पहिले पनि अबैध सामाग्री बरामद भइसकेकोले त्यस्ता औषधि पसलमा विषेश निगरानी बढाइने र छड्के चेक जाँच लाई तिब्र गरिने समेत वताए । ‘तुरुन्तै छड्के जाँच गर्दा व्यवसायीहरु सतर्क रहन सक्छन्, कसरी गर्ने भन्ने गृहकार्य भइरहेकोे छ’ सुवेदीले भने ।

 

लागुऔषधको खुलमखुला बिक्रि, सरोकारवाला निकाय मौन

 

गत हप्ता देखि ओमकार टाइम्सले नियमित रूपमा फार्मेसीहरुको पर्दाफास गरे संगै केही औषधि पसलमा लागुऔषधहरु खुलमखुला रूपमा वितरण गर्ने गरेको खुलेको छ । त्यस्ता पसलहरु मध्ये थानारोड मै रहेको रासिका फार्मेसीले बिगत लामो समय देखि लागू औषध बिक्रि गर्दै आएको पाइएको छ । लागु औषधको खुलम खुल्ला बिक्रीवितरण हुने हल्ला चलेपछि र सम्बन्धित निकायले छापा मारे पछी गत वर्ष २१ दिन सम्म औषधि पसल बन्द गर्नु परेको व्यवसायी यादव कोइरालाले स्वयं स्वीकार गरेका छन् ।

 

‘लागू औषध बेच्ने गरेकै थियो, पोल खुलेपछि  कानुनी झन्झट समेत बेहोर्नु पर्यो, हिजो आज बेच्न छोडियो’, रासिका फार्मेसीका सञ्चालक कोइरालाले बेप्रवाह सुनाए । दर्पण फार्मेसी, दमक फार्मेसी, कुबेर फार्मेसीमा सामान्य कर्मचारीको रूपमा काम गरेका कोइरालाले लागुऔषध बिक्री बाट छोटो समयमा निकै मोटो रकम कमाएको खुलेको छ । साविक कोहबरा १ बालुबथान बाट बाढी पिडित भइ बसाइ हिडेका कोइरालाले दमक शहरको यलम्बर चोकमा राम्रै घर घडेरी जोड्न समेत सफल भएको पाइएको छ । दमक थानारोडमा पसल सञ्चालन गर्नु अघि उनको औषधि पसल यलम्बर चोक स्थित आफ्नै घरमा भएको र लागूऔषध कारोबारकै  कारण उनले यलम्बर चोक बाट थानारोडमा पसल सारेको समेत बुझिएको छ । सबै भन्दा अनौठो तथ्य त के भने उनी संग औषधि बेचबिखनको लागि आवस्यक पर्ने लाइसेन्स समेत नरहेको पाइएको छ । एलोपेथिक फार्मेसी सञ्चालनको लागि उनले अर्कै व्यक्तिको नाममा रहेको आयुर्वेदिक लाइसेन्स प्रयोग गर्ने गरेको रहस्य खुलेको छ ।

 

औषधि व्यवस्था ऐन २०३५ तथा लागुऔषध नियन्त्रण  ऐन अनुसार हदै सम्मको सजाय पाउनुपर्ने उनले  २१ दिन नबित्दै कसरी उन्मुक्ति पाए भन्नेकुरा निकै रहस्यमय देखिएको छ ।

 

यसैबीच औषधि व्यवस्था बिभागले आज शनिबार दमक फार्मेसी लाईनमा गोप्य रूपमा गर्ने भनिएको छड्के अनुगमनको बारेमा शुक्रबार नै व्यवसायीलाई किन सूचना दिइयो भन्ने बारेमा समेत अनुसन्धान आवस्यक रहेको देखिएको छ ।

 

ओमकारबाट नियमित समाचार आउनथालेपछि नाम मात्रको अनुगमन गरेको औषधि व्यवस्था बिभागले आगामी दिनमा कसरी कार्य गर्ला त्यो भने हेर्न बाकी रहेको छ ।