राष्ट्रपतिको भ्रमणमा २ जिल्लाका ४ स्थानीय तहमा बिदा

बुधबारबाट सुदूरपश्चिम प्रदेश भ्रमणमा आएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज सुदूरपश्चिमका पहाडी जिल्लामा आउने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी डडेल्धुरासहित सुदूरपश्चिमका ५ जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदैछिन् ।

 

बिज्ञापन

उनको भ्रणमका क्रममा स्वागतका लागि भन्दै बैतडीका २ स्थानीय तह र दार्चुलाका २ स्थानीय तहमा बिहीवार सार्वजनिक बिदा दिइएको छ । राष्ट्रपति भण्डारीको स्वागतका लागि बैतडीको दशरथचन्द नगरपालिका,पाटन नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिईएको हो ।

 

राष्ट्रकै सातौं धाम दार्चुलाको मालिकार्जुन मन्दिरको दर्शनका लागि आज राष्ट्रपति भण्डारी मालिकार्जुन आउने भएपछि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सार्वजनिक बिदा दिइएका मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिए ।

 

राष्ट्रपतिको स्वागतका लागि मालिकार्जुन गाउँपालिकामा भव्य तयारी गरिएको छ भने मालिकार्जुन मन्दिर परिसर भित्रै हेलिप्याड निर्माण गरिएको छ ।

 

सुरक्षा व्यवस्थापनका लागि तीन वटै सुरक्षा निकायहरुले तयारी गरेका छन् । राष्ट्रपति आउने भएपछि जिल्लाका विभिन्न प्रहरी युनिटबाट समेत प्रहरी खटाइएको छ । दार्चुलाको मालिकार्जुन मन्दिरको दर्शन गरेर राष्ट्रपति भण्डारी बैतडी जाने कार्यक्रम रहेको छ ।

 

बिहीवार दिउँसो २ बजे बैतडीको दशरथचन्द नगरपालिकामा त्रिपुरासुन्दरी मन्दिरमा राष्ट्रपति भण्डारीको बिषेश पुजाआजा हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

 

यसका साथै सोही अवसरका दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनकोे नागरिक अभिनन्दन कार्यक्रम रहेकोले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

 

त्यसपश्चात दिउँसो ३ बजे पाटनमा रहेको भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्राबासको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फवाट नागरिक अभिनन्दन गरिने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

 

यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।