
काठमाडौं । सांसद भीमसेनदास प्रधानले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले कोरोना नियन्त्रणकै लागि शनिबार र आइतबार बिदा दिन (प्रस्ताव) माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले शनिबार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गरे ।

यता, अर्का सांसद मिनबहादुर विश्वकर्माले लकडाउन अवधिलाई शून्य समय मानेर राहतको व्यवस्था गर्नुपर्ने बताए । बैठकमा बोल्दै उनले भने– ‘लकडाउनभरीको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद, बहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै बर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्नुपर्छ ।’



उनले लकडाउन सुरु गरेदेखि अन्तिम दिन सम्मको शून्य समय मानेर यो शून्य समयमा व्यापार व्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गनुपर्नेमा जोड दिए । उनले भने– ‘घरधनीसँग बैंकले व्याज लिनुभएन। यो अवधिमा सरकारले कर नलिऔं । विद्यालयले विद्यार्थीसँग शुल्क नलिऔ। निजी विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयको शिक्षक सरह सरकारले तलब भुक्तानी गरोस्। दैनिक वा मासिक ज्यालादारी गर्ने मजदुरलाई मासिक ७ हजार नगद राहत दिने व्यवस्था गरोस्। होटल रेष्टुरेण्ट र क्याफेलाई सुलभ ब्याज पुन सञ्चालन कर्जा दिने निर्णय गरोस्, उद्योग सञ्चालन नभएको अवस्थामा आधा तलब उद्योगले दिने निर्णय गरोस् ।’
