कोसी अस्पतालमा सुनसरीका एक संक्रमितको मृत्यु

विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै मृत्यु भएको हो ।

बिज्ञापन

उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलका अनुसार वृद्धको बुधबार अपरान्ह १२:३५ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो ।

वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ ।

बुधबार बिहान पनि अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यस्तै, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर-२ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार बिहान ७:३० बजेतिर मृत्यु भएको छ ।

बुधबार बिहान नै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सप्तरीको राजविराजका संक्रमितको मृत्यु भएको थियो । योसँगै प्रदेश- १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।