प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङलाई बनाउने प्रस्ताव

दाङ – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ काे नाम लुम्बिनी प्रदेश र दाङकाे भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ काे स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको छ ।

बिज्ञापन

केहीबेरअघि सुरु भएकाे बैठकमा प्रस्ताव पेस भएको हो । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिएको थिएन ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा मतभेद रहेको छ । यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो भने प्रदेश ५ को राजधानीका लागि पनि नेकपाका दुई जना अध्यक्षबीच सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको बताइएको छ ।

बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया जिल्ला गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने लगायतका ३ निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाकारी दिएका छन् ।

त्यस्तै बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने भएको छ । यस अघि १० करोड रुपैंयाँ राखेर कोष स्थापना गरिएको थियो । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यसवर्ष पनि दरबन्दी स्वीकृत गरिएको जनाएको छ ।