कास्कीमा यसपाली देउसीभैलो खेल्न नपाइने

पोखरा । कास्कीमा यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै देउसीभैलो खेल्न नपाउने बताएको हो ।

नजिकिदै गरेको तिहार, छठ जस्ता चाडमा आवागमन बढ्ने तथा भीडभाडजन्य गतिविधिले थप जोखिम बढाउने भएकाले यस्तो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन् । चाडपर्व मनाउँदा आफू रहेकै ठाउँमा परिवारका सदस्यसँग मात्रै मनाउन पनि प्रशासनले आग्रह गरेको छ । देउसी भैलो, मेलामहोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

बिज्ञापन

चाडबाडको समयमा अतिसबाजि, पटका, झिरझिरे, भुइँचम्पा लगायतका विस्फोटजन्यपदार्थ ओसारपसार तथा विक्रि वितरण नगर्नको लागि पनि प्रशासनले व्यापारीहरुलाई सचेत गराएको छ । कोभिड १९ संक्रमणको जोखिम कम गर्न नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरि भौतिक तथा सामाजिक दुरि कायम गर्दै सजग भएर काम गर्न प्रशासनले निर्देशन जारी गरेको छ ।

प्रशासनको निर्णय अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।