

झापा: गौरादह नगरपालिका वार्ड नं. ७ स्थित ग्वालडुब्बा चोक र बजारमा फोहोरको थुप्रो लाग्न थालेको छ ।




फोहोर मैला व्यवस्थापन हुन नसक्दा र जतासुकै फालिएको फोहोर मैलाका कारण बजार क्षेत्र दुर्गन्धित हुँदै गएको हो । २ वर्ष अगाडी वडा कार्यालयले निकै मोटो रकम खर्च गरेर निर्माण गरेको ग्वालडुब्बा बजार भित्रको फोहोर स्थानीयका लागि निकै ठूलो टाउको दुखाइको विषय बनेको छ । वडा कार्यालय छेउ मै रहेकोे उक्त बजार परिसरमा फोहोर व्यवस्थापन हुन नसकेको आरोप स्थानीयले लगाउन थालेका छन् ।
स्थानीय समाजसेवी लक्ष्मी संग्रौलाले बजार क्षेत्रमा वृक्षारोपण गर्नको लागि विभिन्न जातमा बिरुवा निशुल्क रूपमा उपलब्ध गराउनु भएको स्मरण गर्दै ग्वालडुब्बा युवा समुहका अध्यक्ष भोला चक्रवर्ती भन्छन्, ‘लक्ष्मी संग्रौला दाइले असोक, स्वामी लगायतका बिरुवा ग्वालडुब्बा युवा समुहलाइ सौजन्य गर्नु भयो, हामीले निकै मेहनत साथ बिरुवा रोप्ने कार्य पनि गर्यौं तर आज बजार क्षेत्र भित्र एउटा पनि बिरुवा देख्न पाइदैन, यो निकै विडम्बनापुर्ण कुरा हो ।’ ग्वालडुब्बा युवा समुहले विभिन्न समयमा ग्वालडुब्बा चोक भित्र ३० वटा भन्दा बढी कङ्क्रीट डस्बिनको व्यवस्था गरेको तर बजार क्षेत्रमा स्थानीय सरकारले कुनै सहयोग नै नगरेको उनको गुनासो छ ।
स्थानीय व्यवसायी रामचन्द्र पोख्रेलको बिचारमा ग्वालडुब्बा बजारमा मात्र फ़ोहोर व्यवस्थापन भएन भन्नू भन्दापनी यो समस्या सिंगो मुलुक कै भएको जिकिर गर्छन् । ग्वालडुब्बा चोकको फोहोर आफू आफुले व्यवस्थापन गरेको तर बजार भित्रको फोहोर भने व्यवस्थापन हुन नसक्नु विडम्बनापूर्ण भएको उनको तर्क छ ।’
त्यस्तै ग्वालडुब्बा कै स्थानीय व्यवसायी जिबन कोइराला, ‘फोहोरको व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र दुर्गन्धित हुँदै गएको छ, जनप्रतिनिधिले बजार समितिलाई देखाउने र बजार समितिले फोहोर व्यवस्थापनमा ध्यान नदिने परिपाटी रहेको’ भन्दै चिन्ता व्यक्त गर्छन् ।
नगरको बिकासका लागि यसो गर्ने उसो गर्ने भन्दै हिड्ने जनप्रतिनिधिहरु कार्यकाल सकिनै लाग्दा पनि दिगो बिकासका कार्यक्रमहरु पस्किन नसकेको सर्वसाधारणले गुनासो गरिरहदा पनि कानमा तेल हालेर बस्ने र फरक राजनीतिक बिचार भएका स्थानीयको कुरा सुन्दै नसुन्ने जनप्रतिनिधिबाट वडाको सर्वांगिण विकासमा गम्भीर असर पुगेको स्थानीयको ठम्याइ छ ।