
काठमाडौं : सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ ।नेपाल सरकार र बंगलादेश सरकारबीच पुस २ गते (जीटुजी)मार्फत रासायनिक मल खरिद सम्झौता भएको थियो ।

मल खरिदको सम्झौता गरेर स्वदेश फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरूप एलसी (प्रतीतपत्र) खोल्ने काम शुरू भएको बताएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रवार सिद्धार्थ बैंकमा एलसी खोल्न पत्र पठाएको हो ।



नेपालमा एलसी खोलेको जानकारी गराएपछि बंगलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्र मल खरिद शुरू हुनेछ ।

प्रतिमेट्रिक टन २५९ दशमलव २ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार बंगलादेशसँग प्रति मेट्रिकटन १८ डलर कममा खरिद सम्झौता भएको छ ।
जीटूजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरिदको तयारी गरेको थियो ।
तयारी स्वरूप यही पुस २ गते कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच खरीद सम्झौता भएको थियो ।