
विराटनगर । १३ बर्षीय छोरी गर्भवती भएपछि लोकलाज ढाक्न आफ्नै बुवाले उनलाई विराटनगर छोडेर आफु भारत फरार भएका छन् । भारतको सीतामढीस्थित हसिनापुर बस्ने १३ बर्षीय एक बालिका आफ्नै भाउजुको भाईबाट गर्भवती भएपछि ईज्जत जाने डरले बुवाले उनलाई सीमावर्ती क्षेत्र विराटनगर छोडेर भारत फरार भएका हुन् ।

सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरेर जिल्ला प्रशासन कार्यालय, मोरङ आसपास छोरीलाई अलपत्र अवस्थामा छोडेर बुवा भारत फरार भएको मोरङ प्रहरीले जनाएको छ । गत माघ २९ गते उनी रोइरहेको अवस्थामा फेला परेकी उनको राती करिब ९ बजे मोरङ प्रहरीको टोलीले उद्धार गरेको थियो । हाल उनलाई विराटनगर–१२ स्थित स्वयंमसेवी संस्था एबिसी नेपालमा राखिएको छ । ७ महिनाको गर्भ गत बिहीबार संरक्षण गरेर एबिसी नेपालमा ल्याईएको बालिकालाई भोलिपल्ट शुक्रबार उपरार्थ विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । स्वास्थ्य उपचारका क्रममा भिडियो एक्स–रे गराउँदा बालिका २८ हप्ते गर्भवती रहेकी खुल्न आएको थियो ।



बालिकाको बयान अनुसार उनी आफ्नै भाउजुको भाईबाट (सोल्टा) बाट गर्भवती भएकी हुन् । गाउँसमाजमा ईज्जत जाने डरले बुवाले उनीलाई नेपाल छोडेर फरार भएको हुनसक्ने संस्थाकी प्रमुख बिष्णु शर्माको आशङ्का छ । अभिभावकको खोजी संरक्षण गरेर ल्याएपछि भारतको फारबिसगञ्जस्थित जागरण कल्याण भारती संस्थाको सहयोगमा एबिसीले शुक्रबारदेखि नै बालिकाको अभिभावकको खोजी कार्य थालेको थियो । मोरङ प्रहरीले पनि उनको अभिभावकको पहिचानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको थियो ।

हाल भारतीय प्रहरीले बालिकाको पारिवारिक सम्पर्क पहिचान गरिसकेको छ । प्रहरीले उनको आमा र बुवाको आधार कार्ड समेत फेला पारिसकेको छ । बालिकालाई भारतकै सामाजिक संस्था मार्फत् उनको परिवारकोे जिम्मा लगाउने तयारी भईरहेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खडकाले बताउनुभयो । ७ महिनाको गर्भ बोकेकी १३ बर्षीया बालिकाको हाल स्वास्थ्य अवस्था नाजुक छ । शरीरमा रगतको मात्रा पनि पर्याप्त नरहेकाले हाल गर्भपतन समेत गराउन सक्ने अवस्था नरहेको कोशी अस्पतालले जनाएको छ ।