
दमक । गौरादह नगरपालिका भवनको ठिक पश्चिम पट्टी अन्दाजी १० फिट लम्बाइ ८ फिट चौडाइको खाल्डो खनेर पुरिएको अबस्थामा छ ।ओमकार टाइम्स प्रतिनिधि आज(मंगलबार) बिहान ८:३० बजे सो स्थान पुग्दा सो खाल्डोको वरिपरि इलाका प्रहरी कार्यलय गौरादहका प्रहरीहरु , इलाका प्रहरी कार्यलय दमकका प्रहरीहरु र सशस्त्र प्रहरीहरु गरि अन्दाजी ४०/५० जना प्रहरीहरुले घेरेर बसेका छन् । सो स्थानमा गौरादह नगरपालिकाले कोरोना राहतका लागि संकलित खाद्य सामाग्री कुहिएपछि गाडिएको भनेर दावी गरेता पनि त्यहाँको वस्तुस्थिति हेर्दा शंकास्पद बस्तुहरु गाडिएको अनुमान सहजै लगाउन सकिन्छ ।

स्थानीय वासिन्दा , राजनीतिक दलका प्रतिनिधि , सामाजिक संस्थाका प्रतिनिधिले `के गाडिएको छ , हामीले हेर्न मात्र पाउनु पर्छ´ भनेर माग राख्दा अझ बढी सुरक्षाकर्मी झिकाएर सो स्थानलाई निशेध गरेपछि शंकास्पद बस्तु गाडिएको आशंका अझ बलियो भएको छ । खन्नको लागि स्थानीय सरोकारवालाहरुले झिकाएको जे.सी.बी पनि नखनि फर्काइएको थियो ।



`कुहिएको चामल यसरी नगरपालिकाले आफ्नै भवन भित्र ल्याएर किन गाड्नु पर्यो ? फेरि चामल मात्र गाडिएको भए हामीले हेर्दा मात्र के आपत्ति ? यत्रो सुरक्षाकर्मीले किन घेरा हाल्नु पर्यो ? यहाँ केही शंकास्पद बस्तु गाडिएको हुन सक्छ । ´ स्थानीय परिवर्तनका लागि युवा अभियानका सदस्य इन्जिनियर नितेश बस्नेतले ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै भने ।

`यहाँको वस्तुस्थिति हेर्दा पक्कै यहाँ कुहिएको चामल मात्र गाडिएको छैन , शंकास्पद बस्तुहरु पनि गाडिएको हुनसक्छ । नत्र उहाँहरुले हामी हेर्छौ मात्र भनेर भन्दा नदेखाइ कडा सुरक्षा घेरामा किन राख्नु पर्ने ? ´ स्थानीय राप्रपाका नेता खेम तिमल्सिनाले ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै भने ।
`मेरो जानकारीमा आएसम्म त्यहाँ कुनै शंकास्पद बस्तु गाडिएको हैन , कोरोनाको लागि संकलित राहत समाग्रीहरु कुहिएपछि त्याहाँ गाडिएको भन्ने कुरा आयो । मैले नगरपालिकालाई के के खाद्य सामाग्री कुहिएर गाडेको हो , कति परिमाणमा गडेको हो सार्वजनिक गर्न निर्देशन दिई सकेको छु । यसरी खाद्य सामाग्री कुहाएर गाड्नुसट्टा त्यसको समयमै उचित सदुपयोग गर्नु पर्थ्यो ।´ झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै भने ।
यस बिषयमा जिज्ञासा राख्न खोज्दा नगरपालिकाका मेयर रोहित कुमार साह सम्पर्कमा आउन चाहेनन् , उनले पटक पटक फोन काटे ।
हामी रोहवरमा बसेका छौं : इलाका प्रहरी गौरादह
इलाका प्रहरी कार्यलय गौरादका इन्चार्ज सई रमेशकुमार मेहेताले पनि कुहिएको खाद्य सामाग्री नै गाडेको जिकिर गरे । `हामी रोहवरमा बसेका छौं यहाँ कुहिएको खाद्य सामाग्री नै गाडिएको छ ।´ मेहेताले बताए ।
यसरी जनताले गाँस काटेर संकलन गरेको खाद्य सामाग्री गाड्दा तपाईंहरु रोहवरमा बस्ने कि गलत कार्यलाई रोक्ने ,सार्वजनिक सम्पत्तिको रक्षा गर्नु तपाईंहरुको दायित्व हैन भन्ने ओमकार टाइम्स प्रतिनिधिको प्रश्नमा मेहेताले रिसाउदै जवाफ दिए ` हामीलाई नगरपालिकाले रोहवरमा बस भन्यो हामी बसिदियौ , अरु कुरा मेयरसावलाई सोध्नुस् ।´
कुहिएको चामल नै गाडेको हो : नगरपालिका
त्यहाँ उपस्थित सरोकारवालाहरुको चर्को दबाबपछि निकै ढिलो गरेर आएका नगरका प्रवक्ता नगेन्द्र भण्डारीले त्यहाँ कुहिएको चामल , दाल नै गाडिएको दावी गरे । कुन कुन खाद्य सामाग्री कति मात्रामा कुहिएर गाडेको उनले केही नखुलाएता पनि गत बर्ष कोरोनाको महामारीमा राहतको लागि संकलित खाद्य सामाग्रीहरु कुहिएपछि त्यहाँ खाल्डो खनेर गाडेको दावी गरे ।
`गत बर्ष कोरोनाको महामारीमा संकलन भएको खाद्य सामाग्री गोदाममा लामो समय राखेपछि कुहिएको हुनाले हामीले खाल्डो खनेर गाडेका हौं । यस्तो नहनु पर्थो , भयो हामीबाट गल्ती भएकै हो त्यो म स्वीकार्छु ।´ प्रवक्ता भण्डारीले भने ।
नगरपालिकाले कुहिएको खाद्य सामाग्री गाडेको भनेर दावी गरेता पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नु , खन्न आइसकेको जे.सी.बी. लाई फर्काउनु , जुनसुकै शक्ति लगाएर पनि त्यहाँ के गाडिएको हो भनेर हेर्न नदिनुले त्यहाँ कुनै ठूलै शंकास्पद बस्तु गाडिएको टिकाटिप्पणीहरु त्यहाँ उपस्थित सरोकारवालाहरु बीच भइरहेको थियो भने सो कुरालाई नकार्न सक्ने अबस्था पनि थिएन ।