
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ।




महासङ्घका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गरे।

नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि ठप्प हुन गई ठूलो नोक्सानी बेहोर्नुपरेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित भएको उनको भनाइ छ।
कोरोनाका कारण मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल गार्हस्थ्य उत्पादन घट्न गएको, लाखौँको रोजगारी गुमेको र गरिबीको मात्रा बढेको भन्दै उनले महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महसुस गरी सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिए।
सभापति सङ्घईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवम् केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सबलीकरण गर्ने काम गरिरहेको उल्लेख गरे। कूल १७६ भन्दा बढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जुन ३ देखि १८ सम्म सञ्चालन हुनेछ।
यस्तै श्रम सम्मेलनमा कोभिड–१९ महामारीको सङ्कटबाट मुक्त हुन अपनाउनु पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनर्उत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तरराष्ट्रिय श्रम सङ्गठन शताब्दी घोषणाको कार्यान्वयनलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।
-रासस