
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भवन निर्माण गर्दा मापदण्डविपरीत भएको पाइएको छ । डिजाइनअनुसार भवन निर्माणको कार्य हुन नसक्दा भवनका पिल्लरहरू तोड्नुपर्ने भएका हुन् ।

९ करोड ७४ लाख ११ हजार २ सय ६२ रुपैयाँ ९६ पैसामा निर्माण भइरहेको उक्त भवनको ए ब्लकका आठ ओटा पिल्लरहरू पहिलो तलाबाट घटेर जानुपर्नेमा ग्राउण्ड फ्लोरको मध्यभागबाटै घटेको शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले जानकारी दिए । इन्जिनियर भट्टका अनुसार माथिल्लो तलामा छड जोड्नुपर्नेमा तल्लो तलामा नै छड जोडेकाले समस्या आएको हो । अब आठवटा पिल्लरहरू तोडेर तल्लो तलामा जुन डिजाइन देखाइएको छ त्यहीअनुसार छडहरू जोडेर पहिलो तलासम्म पुर्याइने छ ।




नगरपालिकाको कार्यालय नजिकै भवन निर्माण गर्दा त्रुटि देखिनु लज्जास्पद रहेको स्थानीयले बताएका छन् ।
यता भवन निर्माणको जिम्मा लिएको राजेन्द्र निर्माण सेवा प्राली धनगढीले भने बिडिएको निर्देशनअनुरूप नै कार्य गरेको बताएको छ । राजेन्द्र निर्माण सेवा प्रा।ली। धनगढीका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले बिडिएको लिखित निर्देशन र नक्साका आधारमा नै नगरपालिकाको भवनका पिल्लरहरू निर्माण गरेको बताए ।
प्रमुख कार्यकारी अधिकृत भट्टले आठ पिल्लरहरू निर्माण गरिसकेपछि बिडिएले नै पिल्लरहरूमा त्रुटि भएको भन्दै सच्याउन भनेपछि आफूहरूले नगरपालिका भवनका पिल्लरहरू तोडेर पुनर्निर्माण गरिरहेको बताए ।