एमसीसी उपाध्यक्ष काठमाडौं आउँदा विमानस्थल गेटमै विरोध प्रदर्शन, ६ जना पक्राउ

काठमाडौँ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा विरोध प्रदर्शन भएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेको छ ।

उपाध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन् । ‘नो एमसीसी’ लेखेका टि–सर्ट लगाएका एक व्यक्ति कारबाट बाहिर निस्किएर एमसीसीविरुद्ध नारा लगाएका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

बिज्ञापन

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा अधिवक्ता स्वागत नेपालसहित ६ जना रहेका छन् । अर्का व्यक्तिले भने कारभित्रैबाट एमसीसीको विरोध गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा त लिएन तर कार त्यहाँबाट हटाएको थियो ।