रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा मिलाइदिने भन्दै दलालहरू चलखेल हुन थालेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ । औद्योगिक क्षेत्रको जग्गा स्थानीयलाई मिलाइदिने भन्दै अवैध रूपमा रकम असुल गर्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेपछि प्रशासन गम्भीर भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
बुटवल १७ र १८ मा पर्ने सो क्षेत्रमा औद्योगिक कोरिडोरको नाममा रहेको जग्गा कब्जा गरेर संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको पनि उनले जानकारी दिएका हुन् ।
उक्त क्षेत्रमा सुकुम्वासीहरूलाई भेला गरी सुकुम्वासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदीसम्म (बुटवल उपमहानगरपालिका वडा नं १७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका वडा नं. १७ सम्म), उत्तरतर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७ सम्म र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको प्रशासन कार्यालय जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त क्षेत्रमा स्थानीयको विरोध र ढुंगामुढाका बीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । सोही ठाउँमा दलालहरूले चलखेल शुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।
यता बुटवल उपमहानगरपालिका–१७ स्थित औद्योगिक क्षेत्रमा स्थानीयलाई जग्गा मिलाइदिने भन्दै गिरोहले रकम असुल गर्दै आएको आरोपमा पक्राउ पर्नेमा स्याङ्जाका सोनु थापा, गुल्मीको रुरु–१, गुल्मीका गोविन्द विक, मदाने गाउँपालिका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । उनीहरूले उजीरसिंह नगर नयाँ बस्ती विकास परिषद्, बुटवल रुपन्देहीको नाममा फर्जी बिल बनाएर पैसा उठाएको अवस्थामा पक्राउ गरेको थापाले बताए ।