नेपाल बारले सोमबारदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने

काठमाडौँ : नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलन सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ। जबराको राजीनामा माग गर्दै धर्ना दिदै आइरहेको नेपाल बार सोमबारदेखि आन्दोलनलाई सर्वोच्च केन्द्रित गर्ने भएको हो । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार पनि सर्वोच्च परिसरमा धर्ना दिएका छन् ।

तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका हुन्। भिजिलान्तेहरु प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको भन्दै बार महासचिव लीलामणि पौड्यालले भने, ‘यसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ ।’ साथै भोलि (सोमबार) देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने समेत उनले बताए। आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविद्ध उतारेको भन्दै महासचिव पौड्यालले भने, ‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं ।’

बिज्ञापन

कानुन व्यवसायीहरुले अदालती प्रक्रिया ठप्प पारेर धर्ना दिइरहँदा अदालतबाहिर भने आज न्यायालय बन्द गर्न पाइँदैन भन्दै नाराबाजी भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्न आग्रह पनि गरे ।