प्रधानसेनापतिलाई के भएको हो त्यस्तो, जो रहस्य बनेर खुलेको छैन

प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ।

स्वास्थ्यमा लगातार समस्या भएपछि थप उपचारका लागि पुस ३० गतेसम्मका लागि घरबिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचारत छन्। तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन्।

बिज्ञापन

मुलुकका तीन सुरक्षा निकायमध्ये सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंगको प्रमुखका रूपमा प्रधानसेनापतिलाई लिइन्छ। सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए।

तर, शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने खुलाउन चाहेनन्। स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै पौडेलले भने, ‘यो व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले आवश्यक समयमा हामी तपाईंहरूलाई जानकारी गराउनेछौं।’ प्रधानसेनापति शर्मा एकदुई दिनमै स्वदेश फर्कने भन्दै उनले थपे, ‘त्यसपछि आवश्यकताअनुसार जानकारी गराउनेछौं।’

उपरथीको जिम्मेवारीमा हुँदा दुईपटकसम्म मिर्गौलामा ‘स्टोन’ भएपछि शर्माले सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराइसकेको सैनिक स्रोतले जनाएको छ। गत भदौ २४ गतेदेखि तीन वर्षका लागि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका शर्मालाई त्यसपछि पनि स्टोन देखिएको स्रोतको भनाइ छ।

शर्मा कात्तिक २३ देखि २६ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएका थिए।