युक्रेनको राजधानी किभमा भीषण युद्ध

किभ । युक्रेनको राजधानी किभकोे सडकमा युद्ध सुरु भएको जनाएको छ ।
युक्रेनको राजधानी किभमा प्रशासनले मुख्य सहरको सडकमा युद्ध सुरु भएकोले सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह गरेको छ ।

प्रशासनले बालकनीमा बाहिर नजान पनि चेतावनी दिएको युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।

बिज्ञापन

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले राजधानी किभमा ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए । युक्रेनको सेनाले पश्चिमबाट मुख्य सडकमा भएको आक्रमणलाई असफल बनाएको बताएको छ ।
सेनाले दक्षिणको एउटा विमानस्थलमा युद्ध सुरु भएको जनाएको छ । यहाँ रुसी सेनाले हवाई हमला गरेको छ। युक्रेनी सेनाले सेना बोकेको रुसी विमानलाई खसालेको युक्रेनको भनाइ छ।
राष्ट्रपति जेलेन्स्कीले जनतालाई बलियो भएर बस्न आग्रह गरेका छन् ।

उनले युक्रेनको भविष्यको निर्णय भइरहेको बताए। युक्रेनमा सर्वसाधारणलाई हतियार दिइएको छ र रुसको आक्रमण रोक्न पेट्रोल बम बनाउन भनिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार रुसी सेनाले किभको भिक्ट्री एभिन्यूमा रहेको युक्रेनी सैन्य आधार शिविरमा आक्रमण गरेको छ । रुसी सेनाले सहरको एउटा पावर स्टेशन कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ ।