नगरपालिका कार्यालय सार्ने  बिषयमा झडप , एकको मृत्यु

जनकपुर । हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका मध्ये  एक जनाको मृत्यु भएको छ ।

झडपमा गम्भीर घाइते भएका ५५ वर्षीय तपेश्वर मण्डलको बुधबार राति मृत्यु भएको हो ।

गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साबिकको कार्यालयका सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित स्थानीयले अवरोध गरेका थिए ।

त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दा मृतक मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए ।

झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

अञ्चल अस्पतालमै उपचाररत रहेका उनको मृत्युपछि अस्पतालसमेत तनावग्रस्त बनेको थियो ।

झडपको क्रममा प्रहरीले लाठी चार्ज गर्दा मण्डलको ढाडको तल्लो भागमा गम्भीर चोट लागेको थियो ।

मण्डलको मृत्यु भएपछि आक्रोशित बनेका हंसपुरका स्थानीयहरु मेयर मण्डलविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनको क्रममा उनीहरुले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग गरेका थिए ।