प्युठानमा एमाले र गठबन्धनका कार्याकर्ता बिच झडप

प्युठानमा नेकपा एमालेका कार्यकर्ता र गठबन्धन दलका कार्यकर्ताहरूबीच झडप भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ६ मा गठबन्धन दलको चुनावीसभा सकिएलगत्तै दुई पक्षबीच झडप भएको हो । झडपमा एमाले र गठबन्धनका दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि बुटवल अस्पतालमा पठाइएको जनाइएको छ ।

गम्भीर घाइते हुनेहरुमा सरुमारानी गाउँपालिका ६ का ३९ वर्षीय तिलक बहादुर राना ,२० वर्षीय लालसिंह रोका ,४९ वर्षीय हिराबहादुर पुन र ४० वर्षीय तिलक बिक रहेका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट र हातखुट्टा र शरीरमा लाठी प्रहारका निलडामहरु रहेका छन् । अहिले उनीहरुको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ ।

बिज्ञापन

गठबन्धन दलहरुले स्थानीय एमालेका नेता तिलबहादुर बुढा र वर्तमान वडा अध्यक्ष तुलबहादुर रोक्काको नेतृत्वमा आएको समूहले आफ्ना कार्यकर्ताहरूमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ ।