उपाध्यक्ष नेम्वाङ भन्छन् : विचार नमिल्नेसँग चुनावी तालमेल गर्दैनौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले विचार नमिल्नेसँग चुनावी तालमेल नगर्ने बताएका छन् । 

मंगलबार बिहान पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा  नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका हुन् । साथै नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग पनि कुराकानी नभएको बताएका छन् । 

उनले भने ‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्ध एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’ ।

नेम्वाङले गठबन्धन सरकार महँगी नियन्त्रण, आर्थिक सूचक सुधार र नागरिक उत्तरदायित्वमा पटक-पटक चुकेको आरोप समेत नेम्वाङले लगाएका छन् ।

चुनाव गर्ने मनस्थितिमा नभएपनि एमालेको दबाबसँगै निर्वाचन आयोगले पटक–पटक दबाब दिएपछि गठबन्धन मिति घोषणा गर्न बाध्य भएको जिकिर गरेका छन् ।

सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेन्डा बनाएर जनतामाझ गएर आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने उनको दाबी छ ।