
इलाम। आगामी मंसिर ४ गतेको हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा एकीकृत समाजवादीले इलामबाट उमेद्वारहरु सिफारिस गरेको छ । उसले प्रतिनिधिसभामा दुवै क्षेत्रबाट १ जना महिला सहित ३ जनाको नाम सिफारिस गरेको छ। इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सावित्रा गड्तौला र डम्बरसिंह गदालको नाम सिफारिस गरेको छ।
त्यस्तै इलाम २ बाट पूर्ण बहादुर बस्नेत, प्रमिला बस्नेत र रामचन्द्र पराजुलीको नाम सिफारिस गरेको छ। प्रदेशसभा तर्फ भने इलाम १ (क) बाट पर्यटनमन्त्री खिनु लङ्वा सहित ६ जनाको नाम सिफारिस गरेको छ। खिनुसँगै सिफारिसहुनेहरुमा केन्द्रिय सदस्य राममाया राई, जिल्ला कमिटी सदस्य मुना राई, जिल्ला अध्यक्ष भक्त केसी, केन्द्रीय सल्लाहकार सदस्य लालबहादुर सुब्बा र जिल्ला कमिटी सचिवालय सदस्य जित बहादुर राईको नाम छ।
माईजोगमाई गाउँपालिकाका निर्वतमान अध्यक्ष जितबहादुर राई यसअघि माईजोगमाई गाउँपालिकामा गठबन्धनको तर्फबाट पुनः अध्यक्षको निर्वाचनमा होमिएर पराजित बनेका थिए।
खिनु २०७४ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई दोब्बर मतान्तरले हराउँदै प्रदेश सांसद बनेकी थिइन्। राजेन्द्र राईको नेतृत्वमा बनेको सरकारमा उनी संस्कृति तथा पर्यटनमन्त्री छिन्।
१ (ख) मा जिल्ला सदस्य मुना राई, केन्द्रिय सल्लाहकार सूर्यबाला राई, टेकबहादुर राई, जिल्ला सचिवालय सदस्य वृहस्पती खतिवडा, पुर्ण प्रसाद ढुङ्गाना, तारा नेपाल र शम्भु दाहालको नाम सिफारिस गरेको छ । सूर्यबाला माओवादी केन्द्र छाडेर नेकपा एसका प्रवेश गरेका हुन्।
उनी यसअघि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट झलनाथ खनालसंग पराजित भएका थिए।
२०७० मा माओवादीले उनलाई समानुपातिक सांसद बनाएको थियो। नेकपा एमालेबाट झलनाथ खनाल र माधव नेपाल छुटिएपछि राई नेकपा एस प्रवेश गरेका हुन्। प्रदेशसभाको इलाम २ (क) मा सदस्य रामचन्द्र पराजुली, जिल्ला सचिव हरि बाला राई, युवा संघका उपमहासचिव सन्जीव राई र कृष्ण गुरुङको नाम सिफारिस गरेको छ। त्यस्तै २ (ख) मा केन्द्रिय परिषद सदस्य मिसन चाम्लिङ, जिल्ला कमिटी उपसचिव सोम शर्मा, जिल्ला सदस्य हर्क साँवा र मुना शर्माको नाम सिफारिस गरेको छ।