
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा पनि अवैध तथा अव्यवस्थित संरचना हटाउन डोजर चलाइने भएको छ ।

अतिक्रमण गरेर बनाइएका अवैध र अव्यवस्थित संरचनाको कारण बजार क्षेत्रको सडक साघुँरो, पार्किङको समस्या र पैदलयात्रुहरु लाई हिड्न समस्या भएको भन्दै हेटौंडा उपमहानगरपालिकाले अव्यवस्थित संरचनामा हटाउने तयारी गरेको हो।



उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यापालिका बैठकले अव्यवस्थित संरचना हटाउने निर्णय गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिएका छन् ।

‘नक्सा पास विना अव्यवस्थित रुपमा जुन संरचनाहरु बनिसकेको,थपेको बढेको छ । त्यसको लगत संकलन गर्छौ । न्यौपानेले भने,हटाउन सूचना निकाल्छौ । हटाइएन भने डोजर चलाउँछौ ।’
उनले उपमहानगरभित्र नक्सा पास नभएका, सडक तथा फुटपाथ मिचेर बनाएका अवैध संरचना हटाउनका लागि ३५ दिने सूचना निकाल्ने र सूचनाको अवधिमा संरचना नहटाइए डोजर चलाइने बताए ।
प्रवक्ता न्यौपानेले अव्यवस्थित संरचनाको मूल्याङ्कन र अनुगमनका लागि हेटौंडा-१० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको समेत बताउँदै केहि दिनमै ३५ दिने सूचना निकाल्ने दाबी गरेका छन् ।
हेटौंडामा पनि सडकपेटी कब्जा गरेर व्यापार व्यवसाय गर्ने, सडक पेटीलाई घरको पार्किङ बनाउने काम बढेको भन्दै जनगुनासो बढे सँगै उपमहानगरले अवैध संरचना हटाउन तयारी थालेको हो ।
काठमाडौं महानगरपालिकाले अवैध र अव्यवस्थित संरचना हटाउन सुरु गरेपछि देशका अन्य स्थानीय तहहरूले पनि अवैध संरचना हटाउन सुरु गरेका हुन् ।