
विराटनगर । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रर्दशन गरेको छ ।

गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा प्रदेश नं. १ कमिटीले बृहत जनप्रर्दशन गरेको हो । प्रर्दशनका क्रममा प्रदेशभरिबाट हजारौंको संख्यामा भेला भएका पार्टीका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणहरुले संसद विघटनको असंवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुर्नस्थापना गर, संविधानको रक्षा गर र असंवैधानिक कु मान्दैनौं लगायतका नारा घन्काउँदै विशाल विरोध र्याली समेत निकालेका थिए ।



विराटनगरको बरगाछी, तिनपैनी, हाटखोला, र रोडषेशबाट संयुक्त रुपमा निकालिएको र्याली जनआन्दोलन (महेन्द्र चौक) पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनै पार्टीमा प्रतिक्रियावादी एजेण्टका रुपमा रहेका प्रधानमन्त्री ओलीले जनताको सार्वभौम अधिकारमाथि हमला गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको सरकारको वैधानिकता समाप्त भएको जिकिर गर्नुभयो । आगामी दिनमा प्रधानमन्त्री ओलीलाई जनताले निरङ्कुश प्रवृतिका तानाशाहको रुपमा सम्झिने अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्नुहुँदै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी अल्पमतमा रहेको जिकिर गर्नुहुँदै पार्टीको सुर्य चिन्ह आफ्नो पार्टीले प्राप्त गर्ने दाबी गर्नुभयो ।
यस्तै प्रचण्ड र नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतमा रहेकाले अब मुलुकमा यही पार्टीले स्थायित्व स्थापना गर्ने पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाले बताउनुभयो ।
यस्तै कार्यक्रममा युवा पुस्तालाई सम्बोधन गर्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधान, प्रतिनिधिसभा र नयाँ पुस्ताको भबिष्य रक्षाका निम्त्ति अब आम जनसमुदाय पुनः सडकमा आउनुपर्ने अवस्थाको सिर्जना भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा भने प्रदेशका १४ वटै जिल्लाहरुबाट करिब २५ हजार बढी आम सर्वसाधारण र पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।