तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या हल हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि रकार सदैव प्रतिवद्ध रहेको पनि बताए ।

बिज्ञापन

उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको
समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री देउवाले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताएका छन् ।

उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।