हङकङलाई १५५ रनले हराउँदै पाकिस्तान सुपर ४ मा

काठमाडौं । पाकिस्तानले एसिया कपको अन्तिम लिग चरणको खेलमा हङकङलाई शुक्रबार १ सय ५५ रनले पराजित गर्दै सुपर ४ मा प्रवेश गरेको छ । पाकिस्तान सुपर ४ पुग्ने अन्तिम टिम रह्यो । यसअघि भारत, अफगानिस्तान र श्रीलंकाले पनि यो चरणको यात्रा तय गरिसकेका छन्।

सारजहामा भएको समूह ‘ए’ को खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले दुई विकेटमा १ सय ९३ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए। यस्तै फकर जमनले ५३ रनको योगदान दिए। जवाफमा हङकङ ३८ रन मात्र बनाएर अलआउट भयो।

बिज्ञापन

पूरा टिम १०.४ ओभर मात्र टिकेको थियो र कोही पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । हारले हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । यो ट्वान्टी-२० क्रिकेटमा उसको अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो।

पाकिस्तानले भने ट्वान्टी-२० क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित आत्मसात् गर्‍यो। अब आइतबार सुपर ४ को दोस्रो खेलमा भारत र पाकिस्तान फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो।