
काठमाडौं । राप्रपा नेपालले आसन्न निर्वाचनका लागि पार्टीको आर्थिक पक्ष बलियो बनाउन सहयोगीहरूबाट आर्थिक संकलन गर्ने भएको छ। पूर्व उपप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष कमल थापाले आज एक अपिल सार्वजानिक गर्दै आगामी निर्वाचनको लागि आर्थिक सहयोगका लागि आह्वान गरेका हुन् ।
सहयोग संकलनका लागि राप्रपा नेपालले ई–सेवा, फोनपे र बैंक ट्रान्सफरजस्ता माध्यमबाट पार्टीको राष्ट्रिय वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ।
अध्यक्ष कमल थापाले जारी गरेको अपीलमा भनिएको छ : ‘राष्ट्रियता, प्रजातन्त्र, उदार अर्थतन्त्र र सनातन हिन्दुराष्ट्रको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’को धरातलमा सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य बोकेको एकमात्र पार्टी राप्रपा नेपालले आगामी २०७९ साल मंसिर ४ हुने आमचुनावमा सक्रियरुपमा भाग लिनेछ। देशको सम्पूर्ण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उमेदवार खडा गरिने छ । आमचुनावबाट राप्रपा नेपाललाई कम्तीमा राष्ट्रिय पार्टी बनाउने छौँ। राप्रपा नेपालको चुनावी अभियानमा तन, मन र धनले सहयोग गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछौं ।
तपाईंहरुको उदार आर्थिक सहयोगको अपेक्षा गर्दछु। आर्थिक सहयोग गर्न चाहनु हुनेहरुले राप्रपा नेपालको राष्ट्रिय बाणिज्य बैंक बौध्द शाखामा RPP NEPAL नाममा रहेको खाता नं १८८०१०००००११९००१ मा जुनसुकै माध्यम (इसेवा, खल्ती, आइएमइ-पे, सेल-पे, प्रभु-पे, मोरु लगायत) बाट जम्मा गरिदिनु भए आभारी रहने छौँ ।