
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सकंल्प रहेको बताएका छन्।
भरतपुरमा शुरू गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शनिबार शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले संकल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए।

जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।’ भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनको भनाइ थियो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम शुरू भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरे।



सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम २ वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। प्राधिकरणले अहिले १६ अर्ब नाफा गरेको उनले जानकारी दिए।

अहिले दैनिक १० करोडदेखि १२ करोडसम्म बिजुली बेचिरहेको उनको भनाइ थियो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले परियोजनाका कारण नगरवासीलाई गुणस्तरीय सेवा दिन सहज हुने बताए। भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो।
निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ। कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ। ठेक्काको रकम २ अर्ब ५० करोड रुपैयाँ हाराहारी रहेको आयोजनाले जनाएको छ।
भरतपुर बाइपास सडकको पुरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ। बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभीएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ। सम्झौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ।
सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्नेछ । भरतपुरका २ सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजना अघि बढाएको हो।