केन्याविरुद्ध नेपालको ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले केन्यासँगको १ दिवसीय क्रिकेट शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ। तेस्रो तथा अन्तिम १ दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले ‘क्लिन स्वीप’ गरेको हो। २५६ रनको लक्ष्य पाएको नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो।

नेपालको जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान अर्जुन साउद र आसिफ शेखका साथै बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए।साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा अविजित रहे। ९० बलको सामना गरेका साउदले ३ चौका र २ छक्का प्रहार गरे।

बिज्ञापन

यसैगरी शेखले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा ५६ रन जोडेका हुन् । उनले यस क्रममा ९ चौका र २ छक्का प्रहार गरे । रोहितकुमार पौडेलले ४६ रनमा अविजित बनाए । ४६ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए । अहमदले पनि ४९ बलको पारीमा ७ चौका प्रहार गरेका थिए । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेख म्यान अफ द सिरिज भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो। केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए। १११ बलको सामना गरेका ओबुयाले ७ चौका र २ छक्का प्रहार गरेका थिए । उनी आलमबाट बोल्ड भएका हुन्।

पराजयका बाबजुद अन्तिम खेलका म्यान अफ द म्याच बोबुया नै भए। ओलुचको २७ बलको विस्फोटक पारीमा ५ चौका र ५ छक्का समावेश थियो। नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए। १० ओभर बलिङ गरेका कामीले ३६ रन मात्र खर्चेका थिए।
यसअघि भएको टी– २० शृङ्खलामा पनि नेपाल ३–२ ले विजयी भएको थियो।