बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन शेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई तथा सेनाका हुद्दासम्मले सहभागिता जनाएका छन् । लमजुङको बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकुलका परीक्षार्थी दरेश पौडेलले परीक्षा दिएका छन् । बेंसीसहर नगरपालिका ७ का पौडेलका बुवाको केही दिनअघि निधन भएपछि उनलाई जनविकासबाटै परीक्षा दिने व्यवस्था गरिएको शिक्षा समन्वय इकाईका प्रमुख नारायण रेग्मीले बताउनुभयो । पौडेलले पहिलो दिन आइतबार अनिवार्य संस्कृति भाषाको परीक्षा दिएका छन्।

केन्द्राध्यक्ष रत्नमान श्रेष्ठका अनुसार स्कूलको कम्प्युटर कोठामा छुट्टै बेन्च राखेर उनलाई परीक्षा दिन व्यवस्था गरिएको छ । बेंसीसहर नगरपालिका २, भकुण्डेस्थित बालकल्याण मावि केन्द्रमा नेपाल प्रहरीका असई ४२ वर्षीय होमबहादुर थापाले परीक्षा दिएका छन् । उनी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । नेपाली सेनाको रोल्पास्थित खड्कदल गुल्मका गुल्म प्रवन्ध हुद्दा ३१ वर्षीय हरिश्चन्द्र पराजुलीले बाल कल्याणबाटै पहिलो दिनको परीक्षा दिएका छन् । यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा कार्यरत ३३ वर्षीय विष्णुमाया गुरुङ, स्वास्थ्य चौकी तार्कुघाटमा कार्यरत ३५ वर्षीया कमला नेपाली लगायतले परीक्षा दिएको केन्द्राध्यक्ष तीर्थ नेउपानेले बताउनुभयो । उहाँका अनुसार यी सवै जनविकास मावि खुलाका परीक्षार्थी हुन् । जिल्ला शिक्षा समन्वय समितिका प्राविधिक सहायक सुरेन्द्र मण्डलका अनुसार पहिलो दिनको परीक्षामा ३२ जना अनुपस्थित भए । छात्रा १५ जना र छात्रा १७ जना अनुपस्थित भएको उहाँले बताउनुभयो ।

जनविकास खुलाका मात्रै ३ महिला र १ पुरुष परीक्षार्थी अनुपस्थित भएको उहाँले बताउनुभयो । आइतबार छात्रा छात्रा १ हजार ५ सय १६ जना र छात्र १ हजार ४ सय ३२ गरी २ हजार ९ सय ४८ जनाले परीक्षा दिएको उहाँले बताउनुभयो । प्राविधिक विषयतर्फ ५६ जनाले सहभागिता जनाएको छ । यसमा शैलपुत्री मावि धमिलिकुवा र जनविकास मावि बेंसीसहरका परीक्षार्थी छन् । वीरभक्ति मावि तार्कुघाट केन्द्रबाट सिभिल ईन्जिनियरिङ विषयका ३७ र पशु विज्ञानका १९ परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रेग्मीले बताउनुभयो । जिल्लाभर १८ केन्द्र रहेकोमा केन्द्राध्यक्ष १८ जना, सहायक केन्द्राध्यक्ष २१ जना तोकिएका छन् । सहायक कर्मचारी र कार्यालय सहयोगी १÷१ जना छन् । १ सय ५० जना निरीक्षक छन् । हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मीमा दरले २ सय ७० प्रहरी खटिनेछन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिलो दिनको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको र कुनै अमर्यादित क्रियाकलाप नभएको बताउनुभयो।
साभार:- ekantipur.com बाट