दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, भारतमा घट्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनीय रुपमा घटेको छैन ।   सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख छ हजार चार सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।सोमबार कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएको यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार एक सय ९३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यसैबीच भारतमा एकै दिनमा चार हजार भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म चार हजार चार सय १७ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा पाँच हजार नौ सय १० जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।

बिज्ञापन