थाईल्यान्डमा एक न्यायाधीशले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतभित्र आफैँलाई गोली हानेका छन् ।
बीबीसीका अनुसार शुक्रवार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश कनिकन फिएन्चनाले पाँच मुस्लिम पुरुषहरूलाई सफाइ दिएका थिए । न्यायपालिका निष्पक्ष हुनुपर्ने भन्दै न्यायिक शपथ वाचन गरेका ती न्यायाधीशले अकस्मात पेस्तोल निकालेर आफ्नो छातीमा गोली हानेका थिए ।
तर ती न्यायाधीशको ज्यान जोगियो । उनी अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गर्दैछन् । निर्णय सुनाउनुअघि लेखिएको एउटा विज्ञप्तिले ती न्यायाधीशले आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा बाह्य हस्तक्षेप भएको हुन सक्ने सङ्केत पाइएको एजेन्सीहरुले लेखेका छन् ।
हत्या र अवैध बन्दुक राखेको मुद्दामा उनले पाँच जनालाई प्रमाण नपुगेको भनेर सफाइ दिएका थिए । त्यसपछि उनले आफ्नो इजलासमा भावुक हुँदै सम्बोधन पनि गरे ।
जसलाई ती न्यायाधीशले आफ्नो फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरेका थिए ।
न्यायाधीश फिएन्चनाले किन आत्महत्याको प्रयास गरे भन्ने स्पष्ट भइसकेको छैन ।