सन्दीपले भने : म निर्दाेष छु, लिग सकिनासाथ नेपाल फर्किन्छु

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् ।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताएका छन् । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने । सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन् । उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए ।