५ महिनामा निर्यातजन्य ७५७ उद्योगले पाए १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’

निर्यात व्यापार गर्ने उद्योगी व्यवसायीलाई सरकारले १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’ दिएको छ । निर्यात व्यवसायमा संलग्न उद्योगी व्यवसायीलाई उनीहरूले गरेको निर्यात रकमका आधारमा सो परिमाण बराबरको रकम इन्सेन्टिभ दिइएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बडू गत चैत २४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए । ‘निकासी प्रवर्द्धनलाई टेवा पुर्‍याउन ७५७ वटा निर्यात गर्ने उद्योगहरूको भ्यालु एडिसन प्रमाणित गरी नेपाल राष्ट्र बैंकबाट १ अर्ब ४३ करोड रुपैयाँ निकासा गरिएको छ,’ मन्त्री बडूले भने ।

उनले आफ्नो कार्यकालमा उद्योग विभागमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको जानकारी दिए । सो सङ्ख्याका उद्योग दर्ता हुँदा ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको मन्त्री बडूले जानकारी दिए । यसमध्ये विदेशी लगानीका २९५ उद्योगमार्फत ५४ अर्ब १५ करोड लगानी हुने र १६ हजार ९ सय नयाँ रोजगारी सिर्जना हुने बताइएको छ ।

बिज्ञापन