
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वाममोर्चाको सम्भावना नै नरहेको दाबी गरेका छन् ।

एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चको आज आयोजित कार्यक्रममा बोल्दै उनले वामपन्थी सरकार ढालेर वामपन्थीको मुख्य शत्रुलाई सरकारको नेतृत्व दिनेसँग कुनै किसिमको गठबन्धन वा मोर्चा नबन्ने प्रस्ट पारे ।



‘वामपन्थीहरूको मोर्चा ! यो कस्तो होला ? के होला मैलाई पनि भन्नुहुन्छ, मिलाउनु नि मिलाउनु ! मिलाउनु भन्या के ? कस्लाई कम्युनिस्ट भन्ने ?,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार ढालेर कम्युनिस्ट पार्टीको मुख्य शत्रु त्यसलाई सरकारको नेतृत्व दिन जानेहरू वामपन्थी रहे कहाँ ?’

माधव नेपालसँग आफूले ४५ वर्ष काम गरेको र आफूले जति कसैले नबुझेको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले केपी ओलीसँग रिस उठ्यो भन्दैमा वामपन्थी सिध्याउनेगरी अघि बढ्नु ठूलो अपराध रहेको बताए ।
‘निर्वाचित पार्टी अध्यक्षलाई हटाउने, प्रधानमन्त्री सदस्यबाट हटाउने र फौजदारी अभियोग लगाएर दण्डित गर्ने, त्यसमा पुष्पकमल दाहालको मतियार बनेर त्यो कुरा ल्याएपछि बुढानीलकण्ठ गएर सरकार बुझाएपछि बाँकी के रह्यो ? सोझो कुरा हो यो, धेरै एकेडेमिक कुरा जरुरी छैन,’ उनले भने ।