
जिल्ला प्रहरी परिसर ललितपुरले दशैं र तिहार लगायत चाडपर्व केन्द्रीत सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झै–झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्नेगरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ । बैंक तथा वित्तिय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले लुटपाट गर्ने समूहबारे निगरानी गर्छन् । लुटपाट गरेर भागेमा उनीहरुलाई छेकबार गर्न मोटरसाइकलमा क्विक रेस्पोन्स टिम खटिएका हुन्छन् ।

लुटपाट नियन्त्रणमा खटिएका प्रहरीले गोली चलाउन सक्छन् । ‘मोटरसाइकल गस्ती गर्ने टिमलाई लुटपाट भएमा तत्काल पुग्ने र बल प्रयोग गर्ने आदेश गरिएको छ’ एसपी शाहीले रातोपाटीसँग भने–‘गस्ती टोलीलाई लुटेराको खुट्टामा गोली हान्ने सम्मको आदेश छ ।’



प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ । लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी शुरु गरेको हो । चाडपर्वमा ३ तहको सुरक्षा घेरा बनाउने गरी विशेष सुरक्षा योजना लागू गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘३ तहको घेरा बनाएर कोभर्ट अपरेशन सञ्चालन गर्छौं ।’

चक्रपथ भित्रको घना बस्ती भएको ठाउँ, त्योभन्दा बाहिरको क्षेत्र तथा ललितपुर जिल्लामा भित्रिने र बाहिरिने नाकामा प्रहरीले सुरक्षा घेरा बनाउने भएको छ । नाकामा हुने चेकजाँच, रातिको समयमा हुने चेकजाँच र होटलमा अवाञ्छित गतिविधि गर्नेहरु माथिको चेकजाँचमा कडाइ गरिने एसएसपी पोखरेलले जानकारी दिए ।
खाली घरमा निगरानी
दशैं र तिहारमा मानिसहरु घर छाडेर आफ्नो पुख्र्यौली थातथलो फर्कने गर्छन् । त्यस्ता घरहरुमा चोरी हुनसक्ने आंकलन गर्दै प्रहरीले विशेष निगरानी गर्ने भएको छ । चोरी नियन्त्रण गर्न चक्रपथभित्र १२ वटा एम्बुसिङ टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी शाहीले जानकारी दिए । ‘एम्बुसिङ’ टिमले पकेटमार र पुराना चोरमाथि निगरानी गर्छन् ।
एम्बुसिङ टोलीले चोरीका लागि घर रेकी गरेर बसेका शंकास्पदलाई नियन्त्रणमा लिन्छन् । युनिफर्ममा सानो संख्यामा (५ जनासम्म) टोलटोलमा पैदल गस्ती गर्ने ललितपुर प्रहरीको योजना छ । बसमा चढ्ने यात्रुहरूको पाकेटमारी हुनसक्ने आकलन गरेर ललितपुर प्रहरीले पाकेटमार माथि निगरानी शुरु गरेको छ । चाडपर्वमा लुटपाट हुनसक्ने ठाउँमा विशेष निगरानी गरिने एसपी शाहीले जानकारी दिए ।
घटस्थापनाका दिनबाट ललितपुरमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने प्रहरीको तयारी छ । उपत्यका बाहिर जाने यात्रुहरुलाई सहजीकरण गर्न र टिकटमा हुने कृतिम अभाव तथा ठगी रोक्न सहायता कक्ष सञ्चालन गर्न लागिएको बताइएको छ । बल्खु, लगनखेल, चापागाउँ, सातदोबाटो र ग्वार्काेमा सहायता कक्ष सञ्चालन गरिएको एसपी शाहीले जानकारी दिए ।