हलो साझा चुनाव चिह्न हो, राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए ।

रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठुलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए ।  ‘राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ’, लिङ्देनले भने, ‘नयाँ शिलशिलाको प्रारम्भ भएको छ । राप्रपा नविन राप्रपाका रुपमा जनतामा लैजाने अठोटमा थप गति प्राप्त गर्नेछ । राप्रपा अघि बढ्यो, यसको गति कसैले रोक्न सक्दैन ।’

बिज्ञापन

उनले आफूहरूले पदको राजनीति नगरेको भन्दै गणतन्त्रका नाममा लुटतन्त्र चलेकाले त्यसको विकल्प खोज्ने मतदाताका लागि राप्रपा आशाको केन्द्र बनेको दाबी गरे । उनले काठमाडौ र धरानले मतदाता परिवर्तनको पक्षमा रहेको देखाएको भन्दै बाकस खोल्दा ठूला दलले बल्ल थाहा पाएको बताए । उनले कांग्रेस माओवादीमा रहेका नेताहरू नसुध्रने भन्दै ती पार्टीका कार्यकर्ताहरूलाई त्यही पार्टीमा बसेर पनि राप्रपामा मत हाल्ने छुट भएको र गरिखाने वर्गका लागि हलो साझा चुनाव चिह्न भएको बताए ।