नेपालगञ्ज : भारतले नेपालगञ्जस्थित जमुनाह नाका शनिबार बिहान ६ बजेदेखि बन्द गरेको छ ।
भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको छ भने नेपालबाट भारत प्रवेश गर्न दिइएको छैन । साथै भारतबाट नेपाल आउने कुनै सवारी साधन चल्न नदिइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
नेपालबाट सीमावर्ती बजार रुपैडिया हिँडेका सर्वराधारण, नेपालमा चाडपर्व मानेर भारत काममा फर्किएका लगायत भारत हिँडेका यात्रुहरु नाकामा अलपत्र परेका छन् ।
शनिबार बिहान नाकामा आइपुगेको दिल्ली–नेपालगञ्ज चल्ने ना ६ ख २९४८ नम्बरको नेपाल–भारत मैत्री बसलाई यात्रु ओरालेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ ।
भारतको सर्वोच्च अदालतले आज लामो समयदेखि अयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवादको फैसला सुनाउँदै छ । यसकै कारण नेपालगञ्जस्थित जनुनाह नाका बन्द गरेको भारतीय पक्षले जनाएको छ ।
अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जनाएको छ ।