सान नेपाल
गौरादह झापा / गौरादह ब्याडमिन्टन खेलकुद विकास समितिको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सुभाष कट्वालको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरेको छ । नव गठित कार्यसमितिको महासचिवमा हरिचद्र अधिकारीलाई चयन गरिएको छ भनें कोषाध्यक्षमा सोमराज सिलवाल रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा विष्णु शंकर, भानु सुवेदी, पुष्पलाल भारती, पर्शुराम वस्नेत, सन्जिव कार्की, कृष्ण भुजेल, ज्ञानेन्द्र लोहनी, क्रान्ति दिप काफ्ले, र नैन सिंह सुब्बा रहेका छन् ।
यसैगरी भेलाले ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा हेमन्त कार्की, नगेन्द्र भण्डारी, भरत फुयाल, पुष्पलाल ढकाल, भुपालराज कट्वाल, पुण्य प्रसाद सिग्देल तथा डिल्ली काफ्ले रहेको नवगठित समितिका महासचिव हरिचन्द्र अधिकारीले ओमकार टाइम्सलाई जानकारी गराएका छन् ।
गौरादह लायन्सका चार्टर्ड प्रेसिडेन्ट डा. तिलक खनालको प्रमुख आतिथ्यतामा कमल गाउँ पालिका वार्ड नं. २ स्थित चियाबगान बनभोज स्थलमा सम्पन्न साधारणसभा बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको गोपनियताको सपथ आजै सम्पन्न भएको र नयाँ समितिले आजै बाट कार्यारम्भ गरेको जनाइएको छ ।संस्थाको बिधान बमोजिम गठित समितिको कार्यकाल ३ वर्षको हुने गर्दछ ।
गौरादह क्षेत्रमा स्थापित भएर दुई वर्षको कार्यकालमा नै निकै लोकप्रियता प्राप्त गरेको ब्याडमिन्टन खेलकुद समितिकै अग्रसरतामा गौरादह १ जनता मा. वी. को मैदान परिसरमा सुबिधा सम्पन्न कवर्डहलको निर्माण प्रारम्भ गरिएको वार्ड अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीको भनाइ रहेको छ । गौरादह नगर भित्र र बाह्य रूपमा सञ्चालन हुने ब्याडमिन्टन प्रतिस्पर्धामा गौरादहका खेलाडीहरुले निकै नै राम्रो सफलता हासिल गर्दै आएको इतिहास पाइन्छ ।
गत वर्ष मात्र गौरादह ब्याडमिन्टन खेलकुद समिति र गौरादह नगर खेलकुद समितिको संयुक्त आयोजनामा प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन खेल संचालन गरिएको थियो । खेल क्षेत्रमा सदैव चर्चाको सिखरमा रहने गरेको गौरादह नगर भित्र खेलकुदको बलियो सम्भावना रहेको भएपनि खेलकुद रंगशालाको निर्माणमा चासो नदिदा भनें स्थानीय खेलकुद क्लब तथा खेलाडीहरु निरास रहने गरेको पाइन्छ ।
खेलकुदको विकासको लागि नगर तथा वडाहरुले बर्षेनी भिन्न भिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको पाइन्छ । महंगो बजेटमा खेलाइने खेलहरु बाट खासै प्रतिफल आउन सकेको भने पाइदैन । बिनियोजित बजेट सक्नको लागि खेल खेलाइनु भन्दा खेल क्षेत्रको दीर्घकालीन बिकासको लागि बजेट सदुपयोग गर्नु अहिलेको आवस्यकता रहेकोे सरोकारवालाहरु बताउँछन् ।
हरेक वर्ष खेलकुद रंगशाला निर्माणको लागि भन्दै विनियोजन गरिने बजेट कागजी रूपमा मात्र सिमित हुनुले नगर खेलकुदको समृद्धि यात्रा अनिर्णमै रुमलिने त होइन भन्ने सर्वत्र चासो र चिन्ता बढ्न थालेको छ ।
ब्यडमिन्टन खेलको माध्यमबाट गौरादहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने छ भन्ने बिश्वाससाथ नयाँ कार्यसमितिलाई यस ओमकार टाईम्स मिडिया प्रा.लि. हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।