लिभरपुलको उपाधि दौड : १६ अंकको अग्रता कायमै

एजेन्सी

रोबर्टो फर्मिन्होले खेल सकिन ६ मिनेट अगाडी निर्णायक गोल गर्दै लिभरपुललाई महत्त्वपूर्ण तीन अङ्क दिलाउन सफल भएका छन् । उनको गोलको मद्दतले लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ गोलले पराजित गरेको हो ।

बिज्ञापन

 

जीतसँगै लिभरपुलले शीर्ष स्थानमा एक खेल कम खेलेर १६ अंकको अग्रता कायम राखेको छ । २३ खेलपछि लिभरपुलको ६७ अंक रहेको छ । दोस्रो स्थानमा २४ खेलबाट ५१ अंक बटुल्दै म्यान्चेस्टर सिटी रहेको छ ।

 

खेलमा अग्रता भने लिभरपुलले बनाएको थियो । कप्तान जोर्डन हेन्डरसनले ट्रेन्ट अलेक्सेन्डर आर्नोल्डको कर्नरमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको सुरुवातमा नै एडामा ट्राओरोको क्रसमा गोल गर्दै राउल जिमेनेजले खेल बराबरी गरे ।

प्रिमियर लिगमा लिभरपुलले ५० दिनअघि ७२५ मिनेट पहिले पछिल्लोपटक गोल खाएको थियो । पछिल्लो पटक लिभरपुलले एनफिल्डमा एभर्टनविरुद्ध गोल खाएको थियो ।

 

बराबरीतर्फ अघि बढिरहेको खेलमा फर्मिन्होले गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे । फर्मिन्होले लिभरपुलका लागि पछिल्ला ११ गोल घरेलु मैदानबाहिर वा न्युट्रल भेन्युमा गरेका छन् ।

 

लिभरपुल पछिल्ला ४० खेलमा अपराजित रहेको छ ।