

सान नेपाल




प्रधानमन्त्री के. पी. ओलीको गृह क्षेत्र मानिने झापाको दमकमा फार्मेसी सञ्चालकहरु नियन्त्रण भन्दा बाहिर देखिएका छन् ।जसरी भए पनि पैसा कमाउनै पर्ने ध्याउन्नमा लागेका डाक्टरहरुको लागि दमक थाना रोड एरिया निकै मलिलो गन्तव्य बन्न थालेको छ भने अनुभवहिन डाक्टरहरुको बारेमा सस्तो बिज्ञापन बजाएर फार्मेसी व्यवसायीहरु ठगी धन्दामा व्यस्त देखिएका छन् ।
प्रचारप्रसार गर्दा अत्याधुनिक र सुबिधा सम्पन्न हस्पिटलको जस्तो देखाउन कोशिश गरिएता पनि औषधि बेच्न र ल्याब टेस्टका नाममा मोटो रकम असुली गर्नु मात्र उनीहरुको दैनिकी हुने गरेको छ ।फलानो डाक्टर फलानो बार आउछ, फलानो डाक्टरलाई देखाएकै भरमा रोग जाती हुन्छ भन्दै बिज्ञापन बजाएर सर्वसाधारणलाई लुटीरहदा समेत सरोकारवाला निकायहरु भने मौन देखिएका छन् ।
दमक क्षेत्र साना र केहि ठुला आकारका गरि दर्जनौं निजी तथा सरकारी अस्पताल खुलेका भएता पनि अस्पतालमा काम गर्ने नियमित डाक्टरहरु समयमा अस्पताल नपुग्दा रोगी बिरामीहरुले सास्ती भोग्नुपरेको पाइन्छ ।
आम्दा अस्पतालमा डाक्टर आउने समय कुरेर छटपटाइ रहेकी केर्खा घर भएकी एक महिलाले दुखेसो पोख्दै ओमकार संग भनिन्, ‘दमक फार्मेसीमा चेक गराउदा गराउदा धेरै पैसा खर्च भयो तर रोग जाती हुने त कुरै नगरौ हात गोडा दुखेर झन ठुलो हैरानी भएको छ ।´फार्मेसीमा जाच्ने डाक्टर आम्दा अस्पतालमै काम गर्छन् भन्ने कुरा उनलाई ६ महिना पछी मात्र थाहा भएको उनि बताउछिन् । आफुलाइ ६ महिनासम्म दुःख दिने डाक्टर तथा फार्मेसी प्रती उनि निकै आक्रोशित देखिन्छिन् ।
सुबिधा सम्पन्न हस्पिटलमा जस्तो सेवा दिने भन्दै सस्तो बिज्ञापन गराएर औषधि बेच्न पल्किएका कतिपय फार्मेसीमा लागु औषध प्रयोगकर्ताको समेत भिडभाड लाग्ने गरेको बुझिएको छ । अरु बेला सुनसान देखिने त्यस्ता केहि औषधि पसलहरु बिहान बेलुका स्कुल र कलेज पढ्ने विद्यार्थी ग्राहकले भरिने गरेको स्थानीयहरु बताउँछन् ।
फार्मेसीलाई खुलम खुला लुटतन्त्र मच्चाउन खुल्ला छोडिरहदा ठुला लगानीमा खुलेका हस्पिटलहरु भनें सुनसान झैँ देखिन थालेका छन् । हस्पिटलमा बिरामीकोको चाप घट्न थालेपछि अस्पताल प्रसासनले धमाधम कर्मचारी कटौती गर्न थालेको श्रोत को दावी छ ।हस्पिटलमा काम गर्ने डाक्टरहरु नै हस्पिटल प्रती बफादार नभएर फार्मेसी मोहमा रहेका कारण पनि स्वास्थ्य क्षेत्रमा भयावह अवस्था सृजना हुन सक्ने विश्लेषण गर्न थालिएको छ ।
बैधानिक रूपमा हेर्ने हो भने कुनै पनि डाक्टरले आफ्नो योग्यता र क्षमताको बारेमा बिज्ञापन गर्नु कानुन सम्मत मानिदैन तर फार्मेसी सञ्चालकहरु भनें घुमाउरो तरिकामा डिग्री मात्र हासिल गरेका चिकित्सकलाई रातारात चर्चित बनाउने कार्यमा लागेका हुन्छन् ।
पुर्जी काट्ने भन्दै चर्को मुल्यमा रकम अशुली गर्ने र पुर्जी बापत प्राप्त भएको अकुत रकमलाई करको दायरामा समावेश नगरिनु साथै डाक्टरकै मिलेमतोमा फार्मेसीले दिनदहाडै बिरामी ठग्दा समेत संघीय र प्रादेशिक सरकार तथा स्थानीय सरकार मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।
अनुभव विहीन, योग्यता र क्षमता नै नभएका चिकित्सकलाई बोलाएर गम्भीर प्रकृतिका रोग लागेका बिरामीको उपचार गराउदा र एउटा डाक्टरले सेवा दिने भनेर बिल कटाउदै अर्को डाक्टरलाई चेक जाच गराउने जस्ता अपराधजन्य कार्य गर्दा समेत सरोकारवाला क्षेत्र मौन बस्नुलाई स्थानीयले निकै गम्भीर रूपमा लिन थालेका छन् ।