सरकारलाई  कोरोना रोक्‍न प्रभावकारी कदम चाल्‍न सांसदहरूको आग्रह

काठमाडौं : सांसदहरूले घातक कोरोना भाइरसबाट आफ्ना नागरिकलाई बचाउन लागि प्रभावकारी कदम चाल्‍न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो आग्रह गरेका हुन्। सांसदहरूले सरकारका निकायहरूबीच समन्वय गरेर रोकथामका तत्‍कालीन र दीर्घकालीन उपायहरू अपनाउन सुझाव दिएका छन्।

 

प्रमुख प्रतिपक्षी कांग्रेसका नेता दिलेन्द्र बडुले कोरोना भाइरसको प्रकोपबाट जोगाउन सरकारबाट भइरहेको तयारीबारे संसदलाई जानकारी दिनुपर्ने बताए। उनले चीनमा देखिएको कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने चिन्ता गर्दै सतर्कताका लागि सरकार गम्भीर हुनुपर्ने बताए। उनले बाहिरबाट संक्रमितलाई ल्याउन नहुने बताए।

 

चीनमा रहेका नेपालीको कसरी व्यवस्थापन भइरहेको छ भन्‍ने प्रश्‍न गर्दै बडुले त्यसबारे स्पष्ट पार्नुपर्ने बताए।

 

अर्का सांसद दिव्यमणिराज भण्डारी कोरोना भाइरसको रोकथामका लागि सरकारले गम्भीर गृहकार्य गर्नुपर्ने बताए। उनले भने, ‘चीनमा जस्तो नेपालमा पनि यो फैलियो भने यसले निकै डरलाग्दो रुप लिन्छ।’

 

कांग्रेस सांसद बालकृष्ण खाँडले कोरोना भाइरसको रोकथाममा सरकार अझै पनि गम्भीर नदेखिएको बताउँदै भने, ‘सरकार जुन तहमा गम्भीर हुनुपर्ने हो, त्यो गम्भीरता देखिएन । यस्तो डरलाग्दो विषयमा सरकारले खेलाँची गर्नुभएन ।’