अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्नुस् :  सभामुख  सापकोटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेससँग आग्रह गर्नुभएको छ । काङ्ग्रेसले आइतबारको संसद् बैठक पनि चल्न नदिएपछि सभामुखले यस्तो आग्रह गर्नुभएको हो ।

 

सभामुख सापकोटाले आइतबारसमेत गरी तीन पटकसम्म बैठक अवरुद्ध भएको भन्दै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सञ्चालनमा सहयोग गर्न काङ्ग्रेसलाई आग्रह गर्नुभयो । संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताउनुभयो ।

 

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै काङ्ग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ । यसअघि गएको बुधबार र बिहीबारको बैठक पनि काङ्ग्रेसका सांसद्हरुको अवरोधका कारण अवरुद्ध भएको थियो ।

 

काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि काङ्ग्रेसले विरोध जनाउँदै आएको छ । अख्तियारले उपसभापति गच्छदारलाई करोड ६९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

 

काङ्ग्रेसले आइतबारको बैठक पनि चल्न नदिएपछि संसद् बैठक मङ्गलबारसम्म स्थगित भएको छ ।